
काठमाडौँ । पछिल्लो समय नेपालमा विभिन्न जातजातिका संस्कृतिमा आधारित चलचित्र बन्ने क्रम बढेको छ । लिम्बू संस्कृतिमा ‘जारी’, राई संस्कृतिमा ‘गाउँ आएको बाटो’, मगर संस्कृतिमा ‘घर ज्वाइँ’, शेर्पा संस्कृतिमा ‘कार्साङ’ लगायतका चलचित्र निर्माण भइसकेका छन् । ती चलचित्रको कथामा उल्लिखित समुदायको संस्कृति जोडेर तयार गरिएको थियो । यही क्रममा आजदेखि प्रदर्शन भएको चलचित्र ‘रिमै’मा गुरुङ समुदायको कला र संस्कृति समावेश छ ।
एउटा व्यक्तिको जन्मदेखि मृत्यसम्मको संस्कृतिलाई देखाइएको चलचित्र गुरुङ संस्कृति बुझ्ने महत्वपूर्ण दस्तावेज बन्न सक्नेछ । विशेषगरी गोरखाको माथिल्लो भेगमा बस्ने गुरुङ समुदायको संस्कार र संस्कृति समेटिएको चलचित्रले प्रेमकथामार्फत संस्कृतिलाई देखाएको छ । यस अगाडि गुरुङ भाषाका चलचित्रमा ती संस्कृतिलाई देख्न पाइएता पनि मूलधार अर्थात् नेपाली भाषामा निर्माण भएको ‘रिमै’ ले गुरुङ समुदायको संस्कृति र जीवनशैलीका विभिन्न आयामलाई गैरगुरुङमाझ पनि परिचित गराउने विश्वास छ ।