काठमाडौं। ट्रकको ठक्करबाट ज्यान गुमाएका ट्राफिक प्रहरी इन्सपेक्टर अभय लामाको शव गृहमन्त्री सुधन गुरुङले बोकेका छन्। स्वयंभूमा दाहसंस्कार गर्नुअघि लामाको शवलाई गृहमन्त्री गुरुङले बोकेर दाहसंस्कार स्थलसम्म पुर्याएका हुन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत इन्सपेक्टर लामा गएको चैत २९ गते दुर्घटनामा परेका थिए। उनको उपचारकै क्रममा वैशाख १ गते निधन भएको हो।
रामेछापको लिखु तामाकोसी गाउँपालिका-४ घर भएका ३३ वर्षीय लामालाई गत आइतबार राति बा.प्र ०२-०२९ प ९४१५ नम्बरको मोटरसाइकलमा जाँदै गर्दा विपरीत दिशाबाट आइरहेको बाप्र ०३-००१ ख १७१५ नम्बरको ट्रकले तारकेश्वर नगरपालिका-८ स्थित डाँडागाउँमा ठक्कर दिएको थियो।
दुर्घटनालगत्तै उद्धार गरी उनलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई ललितपुरको बीएन्डबी अस्पताल रिफर गरिएको थियो।
तर उपचारकै क्रममा वैशाख १ गते उनको मृत्यु भएको थियो।












