अमेरिकी सिनेटले आर्थिक वर्ष २०२६ का लागि ९०१ अर्ब डलरको राष्ट्रिय रक्षा प्राधिकरण ऐन (एनडीएए) पारित गरेको छ । यो विधेयक अब राष्ट्रपति डोनाल्ड ट्रम्पको टेबुलमा हस्ताक्षरका लागि पुगेको छ । विधेयक ७७–२० मतले पारित भएको हो । जसमा दुवै पार्टीको व्यापक समर्थन देखिएको छ ।
हाउस र सिनेटले आफ्ना छुट्टाछुट्टै संस्करणहरूलाई मिलाएर यो सम्झौता संस्करण तयार पारेका थिए । जसलाई हाउसले गत हप्ता पारित गरेको थियो । ३ हजार पृष्ठभन्दा बढी लामो यो विधेयकमा सैनिकहरूलाई करिव ४ प्रतिशत तलब वृद्धि, पेन्टागनको हतियार खरिद प्रक्रियालाई तिब्र बनाउने सुधार, अमेरिकी गोल्डेन डोम मिसाइल रक्षा प्रणालीको विकास र सैन्य तयारीलाई बढावा दिने प्रावधानहरू समावेश छन् ।
विधेयकअनुसार ट्रम्प प्रशासनले दुई वर्षका लागि वार्षिक ४०० मिलियन डलर गरी कुल ८०० मिलियन डलर युक्रेनलाई हतियार उत्पादनका लागि छुट्याएको छ । यसले युरोप र दक्षिण कोरियामा अमेरिकी सैनिक संख्या घटाउन सहयोगी देशहरूसँग परामर्श अनिवार्य गरेको छ ।












