एकताका लागि पहल गरिदिन प्रधानमन्त्री कार्कीसँग जेन-जेड युनाइटेडको आग्रह

sajhamat.com
October 29th, 2025

काठमाडौं । ‘जेन–जेड युनाइडेट फर परिवर्तन’का प्रतिनिधिहरुले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका छन् । मंगलवार सिंहदरबारमा जेन–जी आन्दोलनका घाइते, शहीद परिवारका सदस्यहरुसहित युनाइटेडका प्रतिनिधिहरुले प्रधानमन्त्री कार्कीसँग छलफल गरेका हुन् ।

छलफलमा सहभागि जेन–जेड युनाइटेडका प्रतिनिधिहरुले जेन–जी युवाहरुलाई एकतावद्ध राख्नको लागि सरकारको तर्फबाट पहल गर्न माग गरेको बताएका छन् । छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै जेन–जी युनाइटेड फर परिवर्तनकी एक प्रतिनिधिले देशभरका जेन–जी युवाहरुको एकताका लागि पहल गरिदिन गृहमन्त्री ओमप्रकाश अर्याल र प्रधानमन्त्री सुशीला कार्कीलाई पत्र बुझाएको बताइन ।

उनले जेन–जी आन्दोलनको माग र मर्मअनुसार मुलुकलाई अगाडि बढाउन देशभरका जेन–जीहरु एक हुन आवश्यक रहेकोले सो अभियान जेन–जी युनाइटेड अभियान चलाइरहेको पनि बताइन । उनले जेन–जी समूहहरुलाई एकतावद्ध गर्न सरकारको तर्फबाट आवश्यक पहल गर्नेकुरामा प्रधानमन्त्री कार्की सकारात्मक रहेको पनि बताइन ।

उनले भनिन, ‘हामीले जेन–जी युवाहरुको एकताका लागि पहल गर्न भनेर जुन अपिल लेटर तयार पारेका थियौं त्यो लेटर प्रधानमन्त्री र गृहमन्त्रीलाई बुझाइसकेका छौं । उहाँबाट पनि सकारात्मक प्रतिक्रिया नै आएको छ । जनेजी पुस्तालाई युनाइटेड गर्नको लागि उहाँले पहल गर्नुहुनेछ भन्नेकुरामा हामी अझैपनि आशावादी नै छौं । हाम्रो माग पूरा गर्नको लागि सरकारले पहल गर्नेछ भन्ने आशा लिएका छौं । यदि हाम्रो माग पुरा भएन भने फेरी मुलुकले अर्कै मोड लिनेछ । सबै जिल्लाका जेन–जी युवाहरु युनाइटेड भएर आउनुपर्छ र त्यसका लागि सरकारले वातावरण निर्माण गर्न सहयोग गर्नुपर्छ भन्ने नै हाम्रो मुख्य माग हो ।’