एमालेका पूर्वसांसद देवी भट्टचन पक्राउ

sajhamat.com
October 29th, 2025

काठमाडौं । नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार ललितपुरबाट पक्राउ गरेको हो ।

प्रभु ग्रुपसँगै सम्बन्धित आर्थिक हिनामिनामा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रभु ग्रुपका अध्यक्ष समेत रहेका भट्टचनविरुद्ध यसअघि नै उजुरी समेत परेको थियो । उनी सहकारी ठगी प्रकरणमा पनि मुछिएका थिए ।

भट्टचनविरुद्ध ९८ करोड रुपैयाँ बढी ठगी गरेको आरोपमा प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले नै जाहेरी दिएकी थिइन् । तर, उक्त जाहेरी लामो समय प्रहरी कार्यालयमा अलपत्र परेको थियो । नयाँ सरकार आएसँगै उनी पक्राउ परेका छन् ।

२०७९ को निर्वाचनमा उनलाई नेकपा एमालेले समानुपातिकको जनजातीतर्फ पहिलो नम्बरमा राख्दै सांसद बनाएको थियो। त्यसअघि भने उनी नेपाली कांग्रेसमा आवद्ध थिए।

१४ औँ महाधिवेशनअघि सभापति शेरबहादुर देउवाले संगठन विभागको उपप्रमुखमा मनोनयन गरेका थिए। १९९० मा प्रभु ट्राभलबाट व्यवसाय सुरु गरेका भट्टचनले वित्तीय संस्था र कार्गो व्यवसाय पनि थालेका थिए।

उनले प्रभु बैंकमा लगानीदेखि प्रभु हेलिकप्टरसम्म सञ्चालन गरेका छन्।