२३ र २४ भदौमा भएको दुई दिने जेन–जी आन्दोलनका अगुवाहरूले माईतीघरमा जेन–जी समूहरूबीच एकताको अपिल गरेका छन्।
जेन–जी युनाइटेड परिवर्तन समूहले जेन–जी आन्दोलनका शहीदहरूको सम्झनामा काठमाडौंको माइतीघरमण्डलमा आयोजना गरेको सामूहिक भाइटीका कार्यक्रममा अगुवा र अभियन्ताहरूले जेनजी समूहबीच एकताका लागि अपिल गरेका हुन् ।
शहीदका सपना साकार पार्न जेन–जी आन्दोलनमा एकताको अनिवार्यता रहेको र शहीदका रगतले लेखिएको इतिहास खेर जान दिन नहुने उनीहरुको जोड छ ।
‘जेन–जी एक नभए शहीदका आत्मा भौतारिइरहन्छन्। घाइतेका हृदयहरू कहिल्यै निको हुने छैनन र नेपाल आमाका आँखामा आँशु कहिल्यै सुक्ने छैन’ लेखिएको ब्यानर प्रदर्शन गर्दै उनीहरूले जेन–जीको एकता भाँड्न प्रयास भइरहेको तर्फ सबैको ध्यानाकर्षण गरे ।
उनीहरुले शहीदको नाममा स्वार्थको खेल हुन सक्ने आशंका व्यक्त गर्दै उनीहरूले शहीदका सपना साकार पार्नु बाँचेकाहरूको कर्तव्य रहेको सन्देश लेखिएका प्लाकार्ड बोकेका थिए ।
कार्यक्रममा शहीदहरूका लहरै राखिएका तस्वीरहरूमा भाइटीका लगाई सम्झना गरियो । कार्यक्रममा शहीद परिवार, घाइते, जेन–जी अगुवा, अभियन्ता लगायत सहभागी थिए ।















