Tags: , , , ,

नेपाली क्रिकेटको ऐतिहासिक विजय

वेस्ट इन्डिजलाई ९० रनले पराजित गर्दै नेपालले जित्यो सिरिज (फोटो फिचर)

sajhamat.com
September 30th, 2025

नेपालले वेस्ट इन्डिजलाई ९० रनले पराजित गर्दै एक खेल अगावै सिरिज जितेको छ। यूएईमा जारी युनिटी कप टी २० आई सिरिज अन्तर्गत वेस्ट इन्डिजलाई निरन्तर दोस्रो खेलमा पराजित गर्दै नेपालले सो उपलब्धि हासिल गरेको हो।

टस जितेर पहिले ब्याटिङ्ग गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो। नेपालका लागि आसिफ शेखले सर्वाधिक ६८ रन बनाएर अविजित रहे भने सन्दीप जोराले ३९ बलमा ६३ रन बनाएका थिए। यी दुई खेलाडीले चौथो विकेटका लागि १०० रनको साझेदारी गरेका थिए।

१७४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ्गमा उत्रिएको वेस्ट इन्डिजलाई नेपालले १७.३ ओभरमा ८३ रनमा अलआउट गर्यो। नेपालका आदिल आलमले ४ ओभरमा २४ रन दिएर ४ विकेट लिए। त्यस्तै, कुशल भुर्तेलले ३ विकेट लिए भने ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए।

यसअघि पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई हराएर ऐतिहासिक जित हासिल गरेको थियो। यस खेल जितपछि नेपालले टेस्ट राष्ट्रविरुद्ध ऐतिहासिक सिरिज समेत जितेको छ।

Tags: , , , ,