मतदाता नामावली संकलनको बाटो खुल्यो

sajhamat.com
September 24th, 2025

आगामी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली संकलन गर्न बाटाे खुलेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मतदाता नामावली ऐन, २०७३ संशोधन गर्न अध्यादेश जारी गरेपछि निर्वाचन आयोगले अब मतदाता नामावली संकलन प्रक्रिया अघि बढाउन पाउने भएको हो।

संविधानको धारा ११४ को उपधारा (१) अनुसार नेपाल सरकारको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट उक्त अध्यादेश जारी गरिएको हो। यससँगै निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्न कानुनी अवरोध हटेको छ।

यसअघि रहेको कानुनी व्यवस्था अनुसार, निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनका लागि नयाँ मतदाता नाम दर्ता गर्न नपाइने प्रावधान थियो। ऐनको दफा ४ को उपदफा २ ले उक्त प्रक्रिया निषेध गरेको थियो, जसका कारण आयोग नयाँ मतदाता दर्ता गर्न असमर्थ थियो।

आयोगले सन् २०२२ (२०७९ साल) को निर्वाचनअघि मात्रै अन्तिम पटक मतदाता नामावली संकलन गरेको थियो। तर अब अध्यादेशपछि आयोगले फेरि नामावली संकलनको प्रक्रिया सुरू गर्न सक्नेछ।

गएको आइतबार आयोगले गृह मन्त्रालयलाई पत्राचार गर्दै मतदाता नामावली अद्यावधिक गर्न कानुनी बाटो खुलाइदिन आग्रह गरेको थियो। सोही सन्दर्भमा सरकारले अध्यादेशमार्फत ऐन संशोधनको बाटो रोजेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *