
जेनजीको प्रदर्शनबाट सबैभन्दा पीडामा रहेको भाटभटेनीले काम गर्ने कोही पनि कर्मचारीलाई जागिरबाट ननिकाल्ने भएको छ । भाटभटेनी सुपर स्टोरका अध्यक्ष मीनबहादुर गुरुङले आफ्ना १२ वटा स्टोरहरु जलेर नष्ट भए पनि त्यहाँ काम गर्ने कर्मचारीलाई जागिरबाट ननिकाल्ने बताएका हुन् ।
जेनजी प्रदर्शनकारी भाटभटेनीका विभिन्न स्टोरहरुमा आगजनी गरेर क्षति पुर्याएका थिए । भाटभटेनीमा ठूलो क्षति भए पनि कोही पनि कर्मचारीलाई जागिरबाट ननिकाल्ने र दशैं भत्ता समेत दिइने भाटभटेनीका प्रमुख कार्यकारी सञ्चालक(सीईओ) पानु पौडेलले बताए ।
‘भाटभटेनीका स्टोरहरु जले पनि काम गर्ने कर्मचारी कसैलाई पनि निकाल्दैनौं । उहाँहरुले निर्धक्क काम गर्न पाउनुहुन्छ,’ उनले भने, ‘दशैंलगायतका चाडपर्वमा पनि भत्ता सुविधा दिने सोचिरहेका छौं ।’
उनका अनुसार, क्षति पुगेका भाटभटेनीमा काम गर्ने कामदार अन्य शाखा स्टोरहरुमा लगिनेछ । हाल भाटभटेनीका विभिन्न स्टोरहरुमा १० हजार बढी कामदार कार्यरत छन् ।