काश्मीर आक्रमणपछि भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ अपनाउन आग्रह

sajhamat.com
April 27th, 2025

नयाँदिल्ली, १२ वैशाख (एएफपी): आणविक–शक्ति सम्पन्न प्रतिद्वन्द्वीहरूले काश्मीरमा भएको घातक गोलीकाण्डलाई लिएर एकअर्काविरुद्ध कूटनीतिक उपायहरू लागू गरेपछि संयुक्त राष्ट्रसङ्घले भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ देखाउन आग्रह गरेको छ । भारतले विवादित मुस्लिम–बहुल काश्मीरमा एक चौथाइ शताब्दीमा नागरिकहरूमाथि भएको सबैभन्दा खराब आक्रमणपछि पाकिस्तानलाई ‘सीमापार आतङ्कवाद’ लाई समर्थन गरेको आरोप लगाएपछि दुई देशबीचको सम्बन्ध वर्षौंदेखिको न्यूनतम स्तरमा झरेको छ ।
“हामी दुवै सरकारलाई… अधिकतम संयम अपनाउन र हामीले देखेको अवस्था र घटनाक्रम अझ बिग्रिन नपरोस् भनी सुनिश्चित गर्न अपील गर्दछौँ”, संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले बिहीबार न्युयोर्कमा पत्रकारहरूलाई भन्नुभयो, “पाकिस्तान र भारतबीचको कुनै पनि मुद्दा अर्थपूर्ण आपसी संलग्नताको माध्यमबाट शान्तिपूर्ण रूपमा समाधान गर्न सकिन्छ र हुनुपर्छ भन्ने हाम्रो विश्वास छ ।”
भारतीय प्रहरीले तीन फरार बन्दुकधारीमध्ये दुईलाई पाकिस्तानी भनेर पहिचान गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार पहलगाम लोकप्रिय पर्यटकीय स्थलमा २६ नागरिकको हत्या गर्ने बन्दुकधारीहरूलाई पक्रने प्रतिज्ञा गर्नुभएको छ ।
“म सारा विश्वलाई भन्छु ः भारतले हरेक आतङ्कवादी र तिनका समर्थकहरूलाई पहिचान गर्नेछ, पछ्याउनेछ र दण्डित गर्नेछ । हामी तिनीहरूलाई पृथ्वीको कुनाकुनासम्म खोज्नेछौँ”, उहाँले भन्नुभयो ।
कुनै पनि संलग्नतालाई अस्वीकार गर्दै इस्लामाबादले पहलगाम आक्रमणसँग पाकिस्तानलाई जोड्ने प्रयासहरूलाई ‘तुच्छ’ भनेको छ र कुनै पनि भारतीय कारबाहीको जवाफ दिने प्रतिज्ञा गरेको छ ।
“पाकिस्तानको सार्वभौमसत्ता र यसका जनताको सुरक्षामा कुनै पनि खतरालाई सबै क्षेत्रमा दृढ पारस्परिक उपायहरूद्वारा सामना गरिनेछ”, पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले शीर्ष सैन्य प्रमुखहरूसँग दुर्लभ राष्ट्रिय सुरक्षा समितिको बैठक गरेपछि पाकिस्तानी विज्ञप्तिमा भनिएको छ ।
सन् १९४७ मा स्वतन्त्र भएदेखि नै काश्मीर भारत र पाकिस्तानबीच विभाजित भएको छ । दुवैले उच्च–उचाइको यस क्षेत्रलाई पूर्ण रूपमा दावी गरे पनि यसको अलग–अलग भागलाई शासन गर्दै आएका छन् ।
विद्रोही समूहहरूले स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै सन् १९८९ देखि भारत नियन्त्रित कश्मीरमा विद्रोह गर्दै आएका छन् ।
भारतको वायुसेना र नौसेना दुवैले बिहीबार सैन्य अभ्यास गरेका छन् । भारतीय प्रहरीका अनुसार तीन बन्दुकधारी पाकिस्तान–आधारित लश्कर–ए–तैयबा समूहका सदस्य हुन् । लश्कर–ए–तैयबा संयुक्त राष्ट्रसङ्घद्वारा घोषित आतङ्कवादी सङ्गठन सङ्गठन हो ।
उनीहरूले प्रत्येक व्यक्तिलाई पक्राउ गर्ने सूचनाका लागि २० लाख रुपैयाँ (२३ हजार पाँच सय डलर) इनामको घोषणा गरेका छन् । आक्रमणको एक दिनपछि नयाँदिल्लीले पानी साझेदारी सन्धि निलम्बन ग¥यो, पाकिस्तानसँगको मुख्य भूमि सीमा क्रसिङ बन्द गर्ने घोषणा ग¥यो, कूटनीतिक सम्बन्धहरू कम ग¥यो र पाकिस्तानीहरूका लागि भिसा फिर्ता लियो ।
जवाफमा इस्लामाबादले बिहीबार भारतीय कूटनीतिज्ञ र सैन्य सल्लाहकारहरूलाई निष्कासन गर्न, सिख तीर्थयात्रीहरू बाहेक भारतीय नागरिकहरूका लागि भिसा रद्द गर्न र आफ्नो छेउबाट मुख्य सीमा क्रसिङ बन्द गर्न आदेश दिएको छ ।
सिन्धु नदीबाट पानीको आपूर्ति रोक्ने भारतको कुनै पनि प्रयास ‘युद्धको कार्य’ हुने चेतावनी पनि पाकिस्तानले दिएको छ ।