अधिकारको माग गर्दै दलित युवाको अर्धनग्न प्रदर्शन

sajhamat.com
September 14th, 2024

काठमाडौँ, २९ भदौः समानुपातिक समावेशी प्रतिनिधित्वलगायत दलितहरूको आत्मसम्मान र सशक्तिरणका लागि संविधानप्रदत्त अधिकार कार्यान्वयनको माग गर्दै दलित युवाहरूले अर्धनग्न प्रदर्शन गरेका छन् ।
यहाँस्थित माइतीघर मण्डलामा विगत ३९ दिनदेखि आन्दोलन गरिरहेका युवाहरूले आज अर्धनग्न जुलुस गर्दै आफ्ना मागबारे पुनः ध्यानाकर्षण गराएका हुन् । अर्धनग्न र अन्य सहभागी प्रदर्शनकारीले माइतीघरदेखि बानेश्वरसम्म विभिन्न नारा लगाएर प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले ‘प्रजातन्त्र आयो दलितलाई खै ? लोकतन्त्र आयो दलितलाई खै ? गणतन्त्र आयो दलितलाई खै ? संविधान आयो दलितलाई खै ? व्यवस्था फेरियो दलितलाई खै ?’ जस्ता नारा लगाएका थिए ।

‘दलितका लागि दलित अभियान नेपाल’ का संयोजक खगेन्द्र सुनारले दलितलाई समान अवसर र अधिकारको पालना नभएको भन्दै आफूहरू ३९ दिनदेखि आन्दोलनमा रहे पनि हालसम्म सम्बन्धित निकायबाट कुनै सुनुवाइ नगरेको गुनासो गर्नुभयो । त्यसैकारण आज अर्धनग्न प्रदर्शन गर्नु परेको उहाँले बताउनुभयो ।

आन्दोलनकारीले संविधानको व्यवस्थाअनुसार सबै तहका मन्त्रिपरिषद्, नीति निर्माणका तह, निकाय तथा नियुक्तिलगायत राज्यका सबै तहमा जातीय जनसङ्ख्याका आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने, शिक्षा, स्वास्थ्य, रोजगारी, भूमि, आवासलगायत अधिकारको कार्यान्वयन गरिनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments