ठूला दलहरू मिल्दा तानाशाही हुन्छन् भन्ने तर्क सही होइन : नेता केसी

sajhamat.com
July 10th, 2024

कास्की। नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले मुलुकका ठूला दलहरू एक ठाउँमा रहँदा तानाशाही हुन्छन् भन्ने तर्क सही नभएको बताएका छन्। उनले मुलुकलाई स्थिर सरकार दिन काँग्रेस एमालेसहितको राष्ट्रिय सरकार गठन गर्न लागिएको बताए।

पोखरामा आज आयोजित पत्रकार सम्मेलनमा उनले शान्ति, विकास र राजनीतिक स्थायित्वका लागि संविधान संशोधन आवश्यक रहेको जिकिर गरे। पूवमन्त्री केसीले भने, ‘नेपालको इतिहासमा अहिलेसम्म बनेका ७ संविधानमध्ये कुनै पनि लामो समय टिकेनन्। वर्तमान संविधानमा टेकेर परिवर्तित व्यवस्थाको स्थायित्व, विकास र समृद्धिको चाहना पूरा गर्न स्थिर सरकार बनाउने हाम्रो चाहना हो। त्यसैले संविधान संशोधन गरेर अगाडि बढ्नुको विकल्प छैन।’

उनले संविधान निर्माणपछि पनि स्थिर सरकार बन्न नसक्दा जनअपेक्षाअनुसार काम नसकिएको बताए। काँग्रेस एमालेसहितको राष्ट्रिय सरकार गठनको पछाडि राजनीतिक स्थायित्व दिन संविधान संशोधनको मूल उद्देश्य रहेको उनको भनाई थियो। संविधान संशोधनलगायत विषयमा बृहत् सहमतिका लागि दुई पार्टी एक ठाउँमा आएको उनले उल्लेख गरे।

‘संविधान संशोधनको मूल मुद्दासहित काँग्रेस र एमाले एक ठाउँमा आएका छौं। अब बाँकी दलसँगसमेत बृहत् समझदारी बनाएर समस्याको पहिचान र सम्बोधनका लागि पहल गरिनुपर्छ,’ सांसद केसीले भने। सहमतिअनुसार अब एमाले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा सरकार बन्ने र त्यसमा संविधानले कुनै बाधा नगर्ने उनको स्पष्टोक्ति थियो।

पोखरा विमानस्थल निर्माणका क्रममा भएका अनियमितता तथा प्राविधिक त्रुटिबारे छानबिन गर्न गठित समितिका सदस्यसमेत रहेका केसीले विमानस्थल निर्माणका क्रममा भएका अनियमितताबारे सत्यतत्य बाहिर ल्याउन समितिले सक्रिय रूपमा काम गरिरहेको जानकारी दिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments