
काठमाडौं । सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख पदको उम्मेदवारको भागवण्डा सोमबारसम्म टुंगो लगाउने भएको छ।
आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले भोलिसम्म महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा टुंगो लगाउने निर्णय गरेको माओवादी केन्द्रका एक नेताले जनाएका छन् ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले स्थानीय तह निर्वाचनका लागि सिट बाँडफाँडको जिम्मेवारी कार्यदललाई दिने निर्णय गरेको छ ।
कार्यदलले रिपोर्ट दिएपछि मात्रै सिटको टुंगो लाग्नेछ । सोमबारसम्म महानगर–उपमहानगरमा कुन दलले पाउने भन्नेबारे टुंगो लाग्नेछ ।
सत्तागठबन्धनले वैशाख ३० मा हुने स्थानीय चुनावमा ६ महानगर र ११ उपमहानगर भागबन्डा गरी उम्मेदवार उठाउने तयारी गरेका छन्। तर कहाँ कसले उम्मेदवारी दिने निर्णयमा भने सत्तागठबन्धन पुगेको छैन ।
सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे भोलि नै कार्यदलको रिपोर्ट लिने निर्णय गठबन्धनको बैठकले गरेको छ ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति कार्यदल बनेको थियो । समितिले स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरपालिको भागबन्डाबारे निर्णय गर्ने अधिकारी दिइएको छ ।आज दिउँसो १ बजे गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको बैठक बस्दै छ ।
गठबन्धनले स्थानीय तहको तालमेलको अवस्थाबारे बुझ्न केन्द्र, प्रदेश र स्थानीय तहमा संयन्त्र निर्माण गरेको थियो ।