गठबन्धन गर्ने अधिकार जिल्लामा नै निहित छ: नेता डा कोइराला

sajhamat.com
April 4th, 2022

दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने अधिकार जिल्लामा नै निहित रहेको बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँले आज आयोजना गरेको भेटघाट कार्यक्रममा उहाँले स्थानीय आवश्यकता र औचित्यका आधारमा गठबन्धन गर्ने अधिकार दिइएको बताउनुभयो ।

गठबन्धन गर्ने नाममा केन्द्रबाट हस्तक्षेप नगरिने बताउँदै उहाँले भन्नुभयो, “कहाँ कहाँ गठबन्धन गर्ने त्यो निर्णय जिल्लाले गर्छ । त्यो अधिकार केन्द्रमा राखिएको छैन, यो सही निर्णय भएको छ ।” डा कोइरालाले धेरैजसो जिल्लामा कांग्रेस एक्लै निर्वाचन लड्नुपर्छ भन्ने भावना आफूले पाएको उल्लेख गर्नुभयो । तनहुँमा पनि केही ठाउँमा पुग्दा कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने कार्यकर्ताको भावना रहेको भन्दै उहाँले भन्नुभयो, “जहाँ आवश्यक हुन्छ त्यहाँ गठबन्धन गरौँ ।”

कोइरालाले विधानअनुुसार गाउँपालिकाको अध्यक्ष उपाध्यक्षको उम्मेदवार छनौट गर्ने अधिकार जिल्लामा भएकाले सोहीअनुसार अधिकार प्रयोग गर्न आग्रह गर्नुभयो । “सबै नामावली केन्द्रमा पठाउने होइन, विधानअनुसार चल्नुपर्छ,” उहाँले भन्नुभयो ।

केन्द्रीय सदस्य मधु आचार्यले जित्ने ठाउँमा तालमेल गर्न आवश्यक नरहेको बताउँदै कांग्रेस कमजोर भएको ठाउँमा मात्रै तालमेल गर्नुपर्ने बताउनुभयो । नुवाकोटका पूर्वसभापति जगदीशनरसिंह केसीले कांग्रेसले कांग्रेस उम्मेदवारलाई मतदान गर्ने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

महासमिति सदस्य देवराज चालिसेले शक्तिको राजनीतिले कांग्रेसलाई कमजोर बनाएको उल्लेख गर्नुभयो । जिल्ला सभापति जितप्रकाश आलेले पार्टीको आन्तरिक विग्रहका कारण कांग्रेस कमजोर हुँदै गएकाले एकढिक्का भएर निर्वाचनमा जानुपर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *