फलामे छडको कच्चापदार्थ आयातमा कमी, राजश्व संकलन प्रभावित

sajhamat.com
March 3rd, 2020

रूपन्देही-भैरहवा भन्सार कार्यालयबाट फलामे छड बनाउन आवश्यक कच्चापदार्थ ‘एमएस बिलेट’आयातमा कमी आउँदा राजश्व सङ्कलन समेत प्रभावित भएको छ।

दोस्रो ठूलो सो भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्ष ०७६-७७ को पुस महिनासम्म नौ हजार ८४१ मेट्रिक टन मात्र सो कच्चा पदार्थ आयात भएको छ ।

गत आवको सो अवधिमा २९ हजार ९०३ मेट्रिक टन आयात भएको थियो । २० हजार ६१ मेट्रिक टन कच्चापदार्थको आयातमा कमी आएको प्रमुख भन्सार अधिकृत कमलकुमार भट्टराईले जानकारी दिए।

कच्चा पदार्थ आयातमा कमी आउँदा राजश्वमा समेत कमी आएको छ । गत वर्षको पुससम्म दुई अर्ब २० करोड ४८ लाख ९२ हजार राजश्व असुली भएकोमा चालुआवको पुस सम्ममा ९५ करोड ९७ लाख २२ हजार मात्र असुली भएको छ।

सो अवधिमा उठेको राजश्वमा एक अर्ब २४ करोड ५१ लाख ७० हजार कमी भएको भन्सार अधिकृत गोपाल शर्माले जानकारी दिए।

पञ्चकन्या, लक्ष्मी, काठमाडौँ, एसआर, एभरेष्ट रोलिङ जस्ता ठूला छड उद्योगले यो भन्सार हुँदै भारतबाट कच्चापदार्थ ल्याउने गर्दछ। यसरी कच्चापदार्थको आयातमा कमी हुनु पूर्वाधार विकासका काम कमी हुनु बुद्धिजीवीहरु बताउँछन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments